काठमाडौं, २२ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिन नसकिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआईको अनुदान स्वीकार गर्ने र लोन अस्वीकार गर्ने भन्ने कुरामा सरकार प्रष्ट रहेको बताएका हुन् ।
मन्त्री यादवले बीआरआईको सन्दर्भमा अहिले मन्त्रिपरिषद्मा कुनै पनि प्रकारको छलफल र विषय उठान नभएको बताए । उनले भने, ‘हामी क्लियर छौं, नेपाल सरकार क्लियर छ कि बीआरआईमा हामी लोन लिँदैनौं । अनुदान स्वीकार गर्ने, लोन स्वीकार नगर्ने भन्ने सरकारको रणनीति नै रहेको छ सुरुदेखि नै । अहिले यो विषयमा क्याविनेटमा प्रस्ताव नै आएको छैन, केही कुरा नै भएको छैन ।’
बीआरआई चीनको महत्वकांक्षी परियोजना हो । यसले विश्वका ६० भन्दा धेरै देशहरुलाई सडक, रेल र बन्दरगाहबाट जोड्ने विश्वास लिइएको छ । सन् २०१३ सेप्टेम्बरतिर चिनियाँ राष्ट्रपति सी जिनपिङले बीआरआई योजनाको घोषणा गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा छिमेकी देश चीनको भ्रमण गर्दैछन् । उनी चीन गएको बेला बीआरआई परियोजनाबारे निर्णायक छलफल हुने धेरैको अनुमान छ ।
चिनियाँ बिकास परियोजना बीआरआई ऋणमा लिन नहुने जानाकारहरुले सुझाव दिँदै आएका छन् । अनुदानमा बीआरआई परियोजना स्वीकार गर्दा पनि निशर्त हुनुपर्ने कुटनीतिज्ञहरुको भनाइ छ । देशको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय अखण्डता र स्वतन्त्रतामा असर पर्नेगरी कुनै पनि प्रकारका विदेशी परियोजना स्वीकार गर्न नसकिने आवाज उठिरहेको बेलामा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीले बीआरआईबारे पुनः बहस सुरु भएको छ । File Photo/RN