काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठीमाताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरेका थिए ।
यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरे । राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
यसैबीच पौडेल छालाको जुत्ता लगाएरै छठ पूजामा सहभागी भएपछि उनको आलोचना पनि भइरहेको छ । पूजास्थलमा छालाको जुत्ता झनै अपवित्र मानिन्छ । तर, राष्ट्रपति पौडेलले भने छालाको जुत्ता लगाएरै पूआअर्जना गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।
त्यसोत राष्ट्रपति पौडेलले यसअघि गत तिहारमा लक्ष्मीपूजाको दिन छालाको जुत्ता लगाएरै गाईको पूजा गरेका थिए । त्यतिबेला पनि उनको निक्कै आलोचना भएको थियो ।