Logo

कोशीका निवर्तमान मन्त्री अधिकारीको स्पटोक्तिः ‘मानव तस्करहरुले मलाई प्रयोग गर्न खोजे, यो घटनाको सूचक नै म हुँ’ (भिडिओसहित)



काठमाडौं, २३ कार्तिक । मानव तस्करीको आरोप लागेसँगै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीबाट राजीनामा दिएका लिलाबल्लभ अधिकारीले आरोप अस्वीकार गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त अपराध भइरहेको सूचना पाएपछि प्रहरीलाई आफैंले जानकारी गराएको दाबी गरेका हुन् । उनले सो घटनाको सूचना दिने पहिलो सूचक नै आफू रहेको बताए । आफूलाई प्रयोग गरेर मानव तस्करी हुँदैछ भन्ने थाहा पाएपछि तिनीहरुलाई कारबाहीको दायरामा ल्याउन सूचना दिएको उनले बताए । सूचना दिने व्यक्ति आफैंलाई मानव तस्करको आरोप लगाएर धज्जी उडाइएको भन्दै निवर्तमान मन्त्री अधिकारीले आपत्ति जनाए ।

‘यो अपराधबारे सबै सूचना दिने पहिलो सूचक म हुँ । यहाँ मानव तस्कर हुँदैरहेछ, मलाई प्रयोग गर्नेरहेछन्, अनु्सन्धान गर्नुपर्छ, अनुसन्धानको दायरामा म लिलाबल्लभ अधिकारी आउँछु भनेर भन्ने पहिलो व्यक्तिलाई मलाई किन मानव तस्कर बनाउने ? मैले आफू खरानी भएर, आफ्नो मन्त्री पद गुमाएर, राजीनामा दिएर तिनीहरुलाई कारबाही गर्नुपर्छ भनेर सूचना दिने मान्छेलाई धज्जी उडाएर मानव तस्करको नाईके बनाइदिने ?’ आक्रोश व्यक्त गर्दै उनले भने ।

आफ्नो विरुद्धमा सञ्चार माध्यमहरुले सत्यतथ्य नबुझी समाचार सम्प्रेषण गरेको भन्दै निर्वाचनमा मन्त्री अधिकारीले असन्तुष्टि व्यक्त गरे । उनले आफ्नो चरित्र नखुइल्याइदिन र न्यायाधीश बनेर फैसला नगरिदिन भन्दै सञ्चारकर्मीहरुलाई चेनावनी पनि दिए । जापानबाट डिपोर्ट भएर फर्किएका र अहिले प्रहरीको हिरासतमा रहेका तीन जना व्यक्तिहरुले १० देखि १३ लाख रुपैयाँ निवार्तमान मन्त्री अधिकारीलाई बुझाएर गएको भनी दिएको बयान झुठो रहेको उनले बताए । पैसा दिएको प्रमाणित गरिदिए आफू झुण्डिनसमेत तयार रहेको उनले बताए ।

मानव तस्करको गिरोहहरुले आफूलाई प्रयोग गर्न खोजेको उनको भनाइ छ । अधिकारीले आफ्नो मन्त्रालयको नक्कली कार्ड बनाइएको दाबी गरे । ‘उनीहरुले मलाई प्रयोग गर्न खोजे, मेरो मन्त्रालयको नक्कली कार्ड बनाए, जिन्दगीमा मैले अंग्रेजीमा सही नै गरेको छैन, मेरो सही अंग्रेजीमा गरेको छ । मलाई र मेरो मन्त्रालयलाई बदनाम गराउने, सरकारी छाप, दस्तखत किर्ते गर्ने, मजस्तै थुप्रै मान्छेलाई ठग्ने गिरोह पत्ता लगाउनुपर्छ, म पनि त्यसमा संलग्न छु भने कारबाहीको दायरामा आउनुपर्छ भनेर प्रहरीलाई अपराधबारे सूचना दिने व्यक्ति मलाई अपराधीकरार गर्दैहुनुहुन्छ,’– निर्वर्तमान मन्त्री अधिकारीले भने ।

उनले आफूलाई मानव तस्करको गिरोहले फसाएको बताए । रकम उठाउने महेश पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूहरुलाई विदाइ गरेको बारे बताउँदै उनले भने, ‘मन्त्रीजस्तो मान्छे फस्दैन ? मन्त्री मान्छे होईन ? गोपाल गौतम भन्ने मेरो निर्वाचन क्षेत्रको मान्छे । उसलाई मैले पासपोर्ट दिएको थिएँ, उसले त्यसलाई दिएछ । बेलुका उड्ने बेलामा एक घण्टा अगाडि ल्याएर मलाई दिएको । केही गडबडी त होईन, यो मान्छे त मैले आज देखेको, फोटो खिच भनेर मेरो हबल्दारलाई मैले फोटो खिच्न लगाएको थिए ।’

साथै, सो प्रकरणको छानविनमा सहयोग पुर्याउन आफू तयार रहेको पनि उनले बताए । अनुसन्धानलाई सघाउनका लागि नै आफूले मन्त्री पदबाट राजीनामा दिएको अधिकारीले सुनाए । ‘अनुसन्धान र प्रमाणले भेट्यो भने म जोगिन्छु भनेकै छैन मैले । मेरो तागत नै छैन । म त अनुसन्धानको दायरामा जानलाई मार्ग प्रशस्त गरेको व्यक्ति हुँ म,’– उनले भने ।

आफू र आफ्नो मन्त्रालयका कुनै पनि कर्मचारीले उक्त नक्कली काम नगरेको उनले बताए । निवर्तमान मन्त्री अधिकारीले सबै काम उक्त मानव तस्करको गिरोहले नै गरेको दाबी गरे । ‘अपराधिक गिरोहले यो तहसम्म काम गर्दो रहेछ । म सही भएर धेरै मान्छेहरुलाई सचेत गराउने यो अवसर हो,’– उनले भने ।

टोकियोको अध्यागमन विभागलाई आफूले ‘म बाहिर निस्किन्नँ । समथिङ इज रङ । यी मान्छेहरुलाई म चिन्दिनँ । मेरै प्रोगाममा हिँडेको भनिसकेपछि अब म जान्न मलाई फिर्ता गर्नुस्’ भनेर जानकारी गराएको उनले सुनाए । उक्त अध्यागमन विभागको फुटेज मगाएर हेर्नसमेत उनले आग्रह गरे । आफूलाई जापानको अध्यागमन विभागले रोक्नै नसक्ने दाबी गर्दै उनले आफू जाँदा गलत मान्छे पनि छिर्ने भएर भनेर फर्काइदिन अनुरोध गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्