काठमाडौं, २३ कार्तिक । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट पीडित बचतकर्ताहरुले सहकारी ठगी मुद्दामा फरार गितेन्द्रबाबु राईलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । आज (शु्क्रबार) सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै अरु नेताहरु पनि तानिने भएकाले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारले जिबी राईलाई नेपाल पक्राउ गर्न नचाहेको बताएका हुन् ।
सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘सबै मिलेर जीबी राईलाई संरक्षण गरेको हो कि जस्तो देखिन्छ ।’
जीबीलाई नेपाल ल्याउँदा रास्वपाका अन्य नेतासहित कांग्रेस, एमालेका नेताहरु पनि जोडिने सम्भावना रहेको उनको भनाइ छ । सरकारले जीबीको सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्न नचाहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । बचतकर्ताको बचत फिर्ता गर्न आनाकानी गर्नुको पछाडि सरकारले राजनीति गरिरहेको उनले बताए ।
अध्यक्ष श्रेष्ठले सरकारले चाहेको खण्डमा जिबीलाई भोलि नै नेपाल ल्याउन सकिने र बचतकर्ताको बचतसमेत फिर्ता गर्न सकिने उनको जिकिर छ । उनले पीडित बचतकर्ताको भावनामाथि राजनीति नगर्ने सरकारलाई चेतावनी दिए । File Photo/RN