काठमाडौं, २४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सत्तारुढ दलहरुले सत्ता र कुर्सीका निमित्त राष्ट्रलाई नै दाउ हान्न सक्ने टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पछिल्लो राष्ट्रिय राजनीतिको रचिँदै गरेको प्रपञ्चले उक्त कुरा पुष्टि गर्ने बताएका हुन् । उनले संसदीय व्यवस्था रहेसम्म देशमा महँगी, भ्रष्टाचार र कमिसनखोरी रहिरहने बताए ।
‘पछिल्लो दिनमा राष्ट्रिय राजनीतिमा जे प्रपञ्च गरिँदैछ, जे नाटक गरिँदैछ, यो सबै विगतको जनताको त्याग, तपस्या, बलिदान र आन्दोलनको मुद्दा र जनताको परिवर्तनको चाहनाविरुद्ध गरिँदैछ भनेर नेकपाले जुनबेला घोषणा गरेको थियो, त्यसका विरुद्धमा हामीले संघर्ष गर्दै आएका थियौं, आज त्यही पुष्टि भएको छ । जबसम्म यो देशमा दलाल पुँजीवाद रहन्छ, जबसम्म यहाँ दलाल पुँजीवादको शासन रहन्छ, जब राज्य चलाउने मान्छे राष्ट्र र जनताप्रति होईन कि दलाल पुँजीवाद र दलाल पुँजीपतिप्रति लोयल हुन्छन्, त्यो दिनसम्म देशको दुर्दशा भइरहन्छ । यहाँ महँगी बढिरहन्छ, भ्रष्टाचार र कमिसनका बेलगाम खेलहरु चल्छन् । राष्ट्रलाई सत्ता र कुर्सीका निमित्त दाउ हान्ने खेलहरु चल्छन् । विदेशीहरुका अगाडि आत्मसमर्पण गर्ने होडबाजी चल्छ,’– उनले भने ।
साथै, माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षपछि देशमा गणतन्त्र घोषणा भएपनि जनताको गणतन्त्रण नआइसकेको उनको टिप्पणी छ । नेता प्रकाण्डले नेकपा र नेपालका सबै इमानदार कम्युनिष्टहरु र देशलाई माया गर्ने देशभक्तहरुको संयुक्त प्रयासमा हुने अबको क्रान्तिले जनतालाई अब कहिले पनि धोका नहुने स्थिति सिर्जना हुने दाबी गरे । File Photo/RN