Logo

मानव तस्करीमा मुछिएका कोशीका निवर्तमान कानुनमन्त्री अधिकारीलाई कारबाही गर्ने एमालेको तयारी



काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) ले मानव तस्करीमा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई कारबाहीको तयारी गरेको छ । आज बस्ने केन्द्रीय सचिवालय बैठकले उनको कारबाहीका बारेमा निर्णय गर्ने बताइएको छ ।

जापानको कार्यक्रममा जाने क्रममा ६ जना युवालाई सँगै लगेको घटना बाहिरिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । राजधानीबाहिर मन्त्रीहरु जाँदा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरि आचारसंहिता रहेपनि अधिकारीले जापान जाँदा मुख्यमन्त्रीलाई समेत जानकारी गराएका थिएनन् । विदेश भ्रमणमा जाँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्रावधान रहेको छ । उनी कुटनीतिक मर्यादाको उल्लंघन गर्दै विदेश भ्रमणमा गएका थिए । उनीसँगै जापान पुगेका ३ जना युवासहत ६ जना भने हाल प्रहरीको हिरासतमा छन् । उनीहरुले १० लाखदेखि १३ लाखसम्म बुझाएर आफूहरु जापान गएको प्रहरीलाई बयानका क्रममा बताएका छन् ।

एमाले केन्द्रीय अनुशासन आयोगको अध्यक्ष केशब बडालले अधिकारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही हुनसक्ने बताए । बडालका अनुसार आज बस्ने केन्द्रीय सचिवालय बैठकले यसबारे निर्णय गर्नेछ ।

‘उहाँले राजीनामा दिइसक्नुभएको छ । आजको सचिवालय बैठकले पनि केही गर्ला । प्रदेश कमिटीका अध्यक्षसँग मैले कुरा पनि गरेको छु । त्यहाँ सोलुदेखि पुग्नुपर्छ, बैठक बस्न सकेको छैन । एमाले भएर बस्नेहरुले एमालेले विधिवत पारित गरेको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैलीविपरीत गर्न पाइँदैन ।’ एमाले केन्द्रीय अनुशासन आयोगको अध्यक्ष बडालले भने, ‘त्यसरी विपरीत जाने हो भने एमालेमा नरहनका निमित्त म केन्द्रीय अनुशासन आयोगको अध्यक्षको हैसियतले सबैलाई निर्देशन दिन चाहन्छु । कि एमाले हुनुस्, गलत बाटोमा जानुहुन्छ भने एमाले हुन मिल्दैन ।’



प्रतिक्रिया दिनुहोस्