Logo

रास्वपालाई कार्यकर्ताहरुको चेतावनीः आफ्नै नेताहरुलाई ‘नो नट अगेन’ भन्ने दिन नआओस्



काठमाडौं, २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा समर्थकहरुले पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा धर्ना दिइका छन् । आज (शनिबार) रास्वपा केन्द्रीय समिति बैठक बस्नुअघि कार्यकर्ता तथा समर्थकहरुले धर्ना दिएका हुन् । रास्वपा सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेको लामो समय भइसक्दा पनि ठोस निर्णय गरेर अगाडि बढ्न नसकिएको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

लामिछाने गत कार्तिक ३ गते पक्राउ परेका थिए । उनी पक्राउ परेको २२ दिन भइसक्दा पनि पार्टीले निमित्त पाएको छैन । सोही विरोधमा रास्वापा समर्थकहरुले प्लेकार्डसहित घण्टीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘संकटमा पार्टी सम्हाल, कि ठाउँ छोड, रविका नामबाट नेता र सांसद बन्नेहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो, आन्दोलनको विकल्प छैन, आफ्नै नेतालाई नो नट अगेन भन्ने दिन नआओस्’ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन् ।

लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी तथा संगठित अपराधमा जिल्ला अदालत कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । संगठित अपराधमा प्रहरीले अदालतको अनुमतिमा ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।



प्रतिक्रिया दिनुहोस्