काठमाडौं, २४ कार्तिक । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले अत्याधिक हवाइ भाडा बृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसअघि ३०/३५ हजारमा पाइने हवाइ टिकट अहिले एक लाखसम्ममा विक्री भइरहेको बताए । महँगोमा पनि सहज रुपमा हवाइ टिकट पाउने मुस्किल रहेको उनको भनाइ छ ।
‘अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु अप्ठ्यारो अवस्थामा छन् । विशेष गरी हवाइ भाडाको विषयलाई लिएर हामीले दसैंपछिदेखि हामीले महँगो भाडा तिर्नुपर्यो भनेर सम्बन्धित निकायलाई घच्घच्याइरहेका छौं । नेपालबाट दैनिक १२ सयदेखि १५ सय नेपाली काम गर्नका लागि जानुहुन्छ । जो काम गरिरहनु भएको छ, विदामा आएर फर्किने ५ सय जना गरी दैनिक २ हजार जना विदेश जानुहुन्छ । विशेष गरी खाडी मुलुक दुवै, कतार, साउदी अरेविया, बहराइनलगायतका देशमा ८० प्रतिशत नेपाली जानुहुन्छ,’– उनले भने ।
हवाइ भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उनले सुनाए । टिकटको मूल्य २/३ सय प्रतिशतसम्म बढेको उनले बताए । अध्यक्ष भण्डारीले एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेर भाडा बढाएको आरोप लगाए । ‘हवाइ भाडा बढ्दा हामीले कामदार पठाउन सक्ने अवस्था छैन । अहिले सिजन छ, यसबेला केही भाडा बढ्छ, हामीलाई थाहा छ । तर, १५/२० प्रतिशत बढ्नुपर्नेमा एकैचोटी २/३ सय प्रतिशतले बढ्यो । यसमा हाम्रो आशंका के हो भने सिमित एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेकी भन्ने आशंका हो । पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको हामीले यो भन्दा अगाडि पनि देखेका हौं । अहिले टिकट जतिमा पनि किनबेच भइरहेको छ । वैदेशिक रोजगारीमा जानेहरु मारमा परेका छन् । यहाँबाट टिकट नपाएपछि तेस्रो मुलुकबाट मानिस जानसक्छन् । यसले जोखिम बढ्छ,’– उनले भने ।
हवाइ भाडाको बारणले गर्दा वैदेशिक रोजगारीमा जानेहरुको विचल्ली भएको उनले सुनाए । कतारको दोहाका लागि अहिले एक लाखभन्दा माथि टिकट मूल्य रहेको उनले सुनाए । त्यही टिकट हिजोको दिनमा ३५/४० दिनमा पाइने गरेको उनको भनाइ छ । अहिले अच्चाकाली रुपमा बृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । उनले कालोबजारी भएको पाइएमा कडाभन्दा कडा कारबाही गर्न उनले माग गरे ।
हिजोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सुरु भएको छ । स्तरोन्नतिको कामसँगै हवाइ उडान ३५ प्रतिशतले कटौति हुँदा अन्तर्राष्ट्रिय हवाइ उड्ययन कम्पनीहरुले अचाक्ली भाडा बढाएका छन् । दैनिक १० घण्टासम्म उडान कटौति हुने बताइएको छ ।