काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) ले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई कारबाही गरेको छ । एमाले कोशी प्रदेश समितिले अधिकारीलाई आरोपको अन्तिम निरुपण नभएसम्म पार्टीको कुनै पनि तह र जिम्मेवारीमा रहन नपाउने गरी निलम्बन गरेको हो ।
‘लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’– एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निवर्तमान मन्त्री अधिकारी अनुमतिविना नै कुटनीतिक मर्यादा उल्लङ्घन गर्दैै मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरु लिएर जापान पुगेका थिए । उनीसहितको टोलीलाई जापानको अध्यागमन विभागले फिर्ता पठाएसँगै घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
अधिकारीसँग जापान पुगेका तीन जनासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अधिकारीसँगै जापान पुगेर डिपोर्ट भएका तीन जनाले आफूहरुले १० देखि १३ लाखसम्म पैसा बुझाएको बयान दिएका छन् । मन्त्री अधिकारीले मानव तस्करी गरेको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ ।