काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारीको कारबाही अनुमोदन गरेको छ । एमले कोशी प्रदेश कमिटीले आज निवर्तमान मुख्यमन्त्री अधिकारीलाई पार्टीको कुनै पनि कमिटीमा नरहने गरी कारबाही गरेको थियो । निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा मुछिएपछि विवादमा तानिएका छन् ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य र पार्टीको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जनाकारी गराएका थिए । प्रदेश समितिको उक्त निर्णय केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको हो ।
‘कोशी प्रदेशका लिलाबल्लभ अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको छ । त्यो प्रश्नको कानुनी निरुपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारी र पार्टीको सदस्यबाट पनि मुक्त गर्ने निर्णय गरेको छ । उहाँको बारेमा लागेको सबै आरोपहरुको वस्तुनिष्ट, तथ्यपरक र गम्भीर छानविन सम्बन्धित निकायहरुले गरुन् । त्यो छानविनमा पार्टीले पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरेको छ,’– सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।