काठमाडौं, २५ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले बढी हवाइ भाडा तिरेकाहरुलाई प्रमाणसहित आफूकहाँ आउन भनेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तोकिएका मूल्यभन्दा बढी पैसामा टिकट बेचेको पाइएमा कारबाही गरिने बताएका हुन् । ‘दिल्ली जानलाई एक लाख तिरेको र बुझेकोसहित म कहाँ आउनुपर्यो । आउनुस्, उनीहरुलाई के हो भनेर म सोध्छु, मलाई प्रमाण चाहियो,’– महानिर्देशक अधिकारीले भने ।
साथै, हिजो वायु सेवा कम्पनीहरुसँग मिटिङ नै गरेको बताउँदै उनले भाडा अस्वभविक रुपमा नबढेको बताए । नेपालीहरुले नै २० हजारमा टिकट होल्ड गरेर ४० हजारमा बेची कालोबजारी गरेको उनले बताए । अब टिकट होल्ड गर्ने प्रणाली नै खारेज गरिएको उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सुरु भएको मौका छोपेर नेपाली ट्राभल एजेन्सीहरुले नै कालाबजारी गरेको उनको आरोप छ ।
‘यो विमानस्थल देशका लागि बनाएको हो । यो बनाउनेमा मौका छोपेर हाम्रै नेपालीहरुले पनि त गरेका छन् नि । श्रमिकको हकमा उहाँहरुलाई कसरी सुलभ रुपमा कार्यस्थलमा फर्काउने भनेर हामीले मिटिङ गर्दैछौं,’– उनले भने ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामसँगै हवाइ उडान ३५ प्रतिशतले कटौति हुँदा अन्तर्राष्ट्रिय हवाइ उड्ययन कम्पनीहरुले अचाक्ली भाडा बढाएका थिए । हाल रातिको १० बजेदेखि विहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको छ । महानिर्देशक अधिकारीले वायु सेवा कम्पनीहरुसँगको छलफल र लिखित सहमतिपश्चातमात्रै विमानस्थल बन्द गरेर स्तरोन्नतिका लागि निर्णय गरिएको बताए ।