Logo

जसपा नेपालको अभियान र स्थानीय तहको निर्वाचन तयारी सँगसँगै भइरहेको छः पूर्ण बस्नेत



काठमाडौं, २५ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको तयारी सँगसँगै भइरहेको बताएका छन् । मंसिरमा हुन गइरहेको उपनिर्वाचनमा पार्टीले लगभग सबैजसो पदमा उम्मेदवारी दिने र मुख्यरुपमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कोसी प्रदेशमा पार्टी केन्द्रित हुने बस्नेतले बताए ।

पार्टीका जिल्लास्तरीय विस्तारित बैठकहरु बसेर उम्मेदवार चयनको कार्य भइरहेको भन्दै उनले पार्टीका शीर्ष नेताहरु संगठन निर्माणको चार महिने अभियानलाई सफल बनाउने र आगामी उपनिर्वाचनमा उपयुक्त उम्मेदवार चयन गर्ने कार्यमा खटिएको बताए ।

पार्टीका नेता कार्यकर्ताहरु भदौ महिनादेखि नै संगठन निर्माण अभियानमा निरन्तर सक्रिय भएर लागेको कारण उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सजिलो हुने उनको दाबी छ । जसपा नेपालको चार महिने अभियान मंसिर मसान्तसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्