काठमाडौं, २५ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने हो भने बैंकबाट लिएको ऋण तिर्न नपर्ने भन्दै भ्रम फैलाएको आरोप लगाएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बुटवलतिर रास्वपाले अफवाह फैलाएर पोखरामा आन्दोलनका लागि मान्छे उतारेको पाइएको बताएका हुन् ।
‘अहिले म बुटवलतिर छु । बैंकबाट ऋण लिएकालाई रास्वाले भनेको रहेछ– रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने हो भने यो बैंकबाट लिएको ऋण तिर्न पर्दैन । सबै मिनाहा हुन्छ भनेर पोखराको आन्दोलनमा गएका रहेछन्, बैंकबाट ऋण लिएर तिर्न नसकेकाहरु,’– अध्यक्ष केसीले भने ।
अध्यक्ष केसीले रास्वपाले देशमा सुशासन ल्याउँछ, भ्रष्चारको अन्त्य गर्छ र पुराना पार्टीहरुलाई विस्थापन गर्न सक्छ भन्ने कुरा असत्य रहेको बताए । उनले रास्वपाको हबिगत देखिइसकेको टिप्पणी गरे ।
रास्वपाले नेपाली जनताको पसिनालाई गुल्छारा उडाउन पाउनुपर्ने, ठगेर खान पाउनुपर्ने, अरु पार्टीले खाए, हामीले पनि खान पाउनुपर्छ भनेर रवि लामिछानेको पक्राउविरुद्ध आन्दोलनमा उत्रिएको उनले बताए । अध्यक्ष केसीले अब जनताले सत्य र असत्य बुझ्ने बेला भएको बताए । पु्राना पार्टीहरुले गणतन्त्रलाई उपयोग गरेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा त्यो नसकेको उनले बताए । तर, पुराना दलको विकल्प अहिले आएका नयाँ दललाई मान्न नसकिने उनको टिप्पणी छ ।
‘पुराना दलहरुले लोकतन्त्र र गणतन्त्रलाई उपयोग गर्नुपर्ने हो । राष्ट्र र जनताको पक्षमा काम गर्न सक्नुपर्ने हो, त्यो सकेनन्, त्यो कुरा सत्य हो । तर, त्यसको विकल्प यी आएका नयाँ जोगीले धेरै खरानी घसेर नेपाली जनताको जीवनमा परिवर्तन ल्याउँछन्, नेपालको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा गर्छन्, नेपाली जनताको जीवनमा परिवर्तन ल्याउँछन् भन्ने कुरा र यो संगठन (रास्वपा) को बारेमा त राष्ट्रिय जनमोर्चा २०७९ देखिनै बोल्दै आएको छ,’– अध्यक्ष केसीले भने । File Photo/RN