काठमाडौं, २५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सरकारले शक्तिको दुरुपयोग गरेर पार्टी सभापति रवि लामिछानेलाई भए नभएका मुद्दा लगाउन खोजेको आरोप लगाएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले अनुसन्धानका नाममा लामिछानेलाई दुःख दिने काम गरिरहेको बताएका हुन् । गोर्खा मिडियाका अध्यक्ष जिबी राईले सहकारी ठगी गरेको विषयमा लामिछानेलाई दुःख दिने नियतले छानविनमा तानिएको उनको आरोप छ ।
लामिछानेले सहकारी ठगी गरेको प्रमाण भेटिएन, हामीले दोषी देखाउन सकेनौं, गोर्खा मिडियाको आर्थिक कारोबारमा चाहीँ लामिछानेलाई जिम्मेवार बनाउनु भनेर संसदीय विशेष समितिले दिएको प्रतिवेदनको विरुद्धमा हुनेगरी बदनियत राखेर पक्राउ गरिएको उनको भनाइ छ । गोर्खा मिडियाबाट भएको आर्थिक कारोबारमा लामिछानेलाई जिम्मेवार बनाउँदा पनि देवानी कानुनअन्तर्गत मुद्दा चल्ने उनको जिकिर छ ।
‘संसदीय समितिले कहीँकतै प्रमाण भेटिएन । यसमा हामीले दोषी देखाउन सकेनौं, भएनन् । अब उनी गोर्खा मिडियामा काम गरेका हुन्, गोर्खा मिडियाका अध्यक्षले सहकारी ठगी गरेको हो । त्यहाँ छानविन गरेर कारबाही गर्नु भनेको प्रतिवेदनको आधारमा कारबाही गर्नुपर्थ्यो भने सरकारले सिभिल लअन्तर्गत गोर्खा मिडियाको अडिट रिपोर्टसहित सबै कागजात छानविन गरेर रवि लामिछानेलाई कारबाही गर्ने प्रक्रियामा जानुपर्ने हो । तर, यो सरकारले शक्तिको दुरुपयोग गरेर भए नभएका सकेसम्म धेरै मुद्दा लगाउने र लामो समयसम्म प्रहरी हिरासतमा लाने कुरा गर्दैैछ,’– उनले भने ।
साथै, नेता पराजुलीले कांग्रेस–एमालेसहितको वर्तमान गठबन्धन सरकार राणा र पञ्चेहरुभन्दा पनि निरङ्कुश हुन खोजेको टिप्पणी गरे । उनले सरकारको विरुद्धमा बोल्नेका विरुद्ध वर्तमान सरकार आक्रमक रुपमा प्रस्तुत भइरहेको बताए । ‘जनताको आवाज दवाउने कोशिस गर्दैछन् आज यिनीहरु । राणा शासन भन्दापनि, पञ्चायती व्यवस्थाका शासक भन्दापनि यिनीहरु आजकाल बेसी निरङ्कुश बन्ने कोशिस गर्दैछन् । जनताले हामीले कम्तिमा यो देशका बस्न पाउँ, कम्तिमा यो देशमा रोजगारीको सुनिश्चितता गर, अवसरको सुनिश्चितता गर, हामीले गर्ने अध्ययनको गुणस्तर सुनिश्चितता गरे भन्दैगर्दा खबरदार सरकारविरुद्ध बोल्लास् भनेर समाएर जेलमा कोच्ने कोशिस गर्छन्,’– उनले भने ।