काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले महँगो हवाइ भाडाको विरोध गरेका छन् । सांसद बजगाईँले आज (आइतबार) माइतीघर मण्डलामा विरोध सभा नै गरेर महँगिएको हवाइ भाडाको विरोध गरेका हुन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामसँगै हवाइ उडान ३५ प्रतिशतले कटौति हुँदा अन्तर्राष्ट्रिय हवाइ उड्ययन कम्पनीहरुले अचाक्ली भाडा बढाएका थिए । अहिले रातिको १० बजेदेखि विहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको छ ।
सांसद बजगाईँले महँगो हवाइ भाडाको विरोध गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको कडा शब्दमा आलोचना गरे । उनले यस्तो अवस्थामा सरकार मुकदर्शक भएर बस्नु लज्जाजनक रहेको बताए । सांसद बजगाईँले सुरुवाती दिनदेखि नै मन्त्री पाण्डेको कार्यक्षमता र दक्षतामाथि प्रश्न उठाउँदै आएका छन् ।
‘नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त छ । उता नेपालभित्र रोजगारको सम्भावना नभएर बुबाआमाले दुध खान पालेका गाई भैंसी बेचेर परिवार पाल्न र सन्तान छाडेर विदेशिन बाध्य नेपाली दाजुभाई दिदीबहिनीमाथि महँगो भाडा थोपरिएको छ,’– सांसद् बजगाईँले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा प्रयोग भएको व्यानरमा लेखिएको छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल