काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले रवि लामिछानेले गृहमन्त्री हुँदा नेपाल प्रहरीको चरम दुरुपोग गरेको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेले आफू गृहमन्त्री हुँदा प्रहरीको सरुवा, बढुवामा बार्गेनिङ गरेको आरोप लगाएका हुन् । त्यस्तै, लामिछानेले आफू गृहमन्त्री हुँदा बालुवाटार जग्गा प्रकरणदेखि बालमन्दिर जग्गा प्रकरणमा बार्गेनिङ र चलखेल गरेको आरोप नेता खतिवडाको छ ।
‘नेपालको इतिहासमा सबैभन्दा बढी नेपाल प्रहरीलाई दुरुपयोग गरिएको कुनै गृहमन्त्रीको पालामा छ भने रविजीको पालामा छ । पुलिसमा हाइजमजस्तो लागू गरियो । १ नम्बर, २ नम्बर, ३ नम्बरको लागि प्रमोसन गरिएन । पछाडिकालाई प्रमोसन गरियो । त्यहाँ पनि आर्थिक चलखेल भयो भन्ने आएको छ । २ नम्बर प्रदेशमा गएका ८ वटा जिल्लाका प्रहरीहरुलाई ५२ दिनमा एसपीहरु परिवर्तन गरिएको छ । नेपालको इतिहासमा त्यो भएको थिएन । डिआईजीहरु त्यसैगरी गरिएको छ । बालुवाटार प्रकरणमात्रै होईन, भाटभटेनीदेखि बालमन्दिर जग्गा प्रकरणमा १०/१५ जनालाई सूचना जारी गरियो । कसैलाई मुद्दा चलाइएन, बार्गेनिङ गरियो । केही बैंकका सिईओहरुलाई समातियो, भोलिपल्ट छोडियो । त्यहाँ मुद्दा चलाइएन, बार्गेनिङ गरियो । इतिहासमा सबैभन्दा नराम्रा काम भएका छन् । बोल्ने एउटा, गर्ने काम अर्को गरियो । गृहमन्त्रीलाई सबैभन्दा व्यक्तिको नाममा दुरुपयोग गर्ने काम कुनै पनि गृहमन्त्रीको पालामा भएको छ भने रविजीको पालामा भएको छ,’– उनले भने ।