काठमाडौँ, २६ कात्तिक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन् । शङ्खधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको कार्यक्रममा उनले साख्वाले तत्कालीन नेपाली समाजमा सामाजिक सुधारकका रूपमा अतुलनीय योगदान गरेको बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले तत्कालीन समयमा नेपालीलाई ऋणमुक्त बनाउन योगदान गरेका साख्वा सामाजिक न्यायको पक्षपाती रहेको स्मरण गराउँदै धर्मसंस्कृतिप्रति पनि उनको उत्तिकै योगदान रहेको चर्चा गरे ।
साख्वाको योगदानको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि उनले स्मरण गरे । विसं २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शङ्खधरले जनताको ऋणमोचन गरेको इतिहास छ । File Photo/RN