काठमाडौं । ज्यान मुद्धामा दोषि ठहर पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । काठमाडौंको स्यम्भूबाट उनी पक्राउ परेका हुन् ।
मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।
ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो। उनलाई अदालतको फैसला कार्यन्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।
मनाङे गण्डकी प्रदेश सभाका सांसद हुन् । ०७४ सालदेखि लगातार प्रदेश सभा सदस्य रहेका उनी हालसम्म ६ पटक मन्त्री बनिसकेका छन् । सांसद चुनिएपछि माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका उनी पछिल्लो समय स्वतन्त्र सांसदकै हैसियतमा फर्किन खोजिरहेका थिए।
सातौ पटकमन्त्री नियुक्त भएपनि उनले मन्त्रालय चित्त नबुझेपछि राजीनामा दिएका थिए । सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छन् । उनी अब करिब ३ वर्ष मात्र जेलबसे पुग्छ ।