Logo

काठमाडौंबाट पक्राउ परेका मनाङेलाई सीआईबी लगियो, आजै अदालत उपस्थित गराइने



काठमाडौं । ज्यान मुद्धामा दोषि ठहर भएका गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वमन्त्री दीपक मनाङेलाई सीआईबी कार्यालयपुर्याइएको छ । उनलाई मंगलबार बिहान सीआईबीको टोलीले सानो भर्‍याङबाट पक्राउ गरेर लाजिमपाटस्थित कार्यालय पुर्याएको हो ।

मनाङेलाई फैसला कार्यन्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ। मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैदको फैसला गरेको छ। यसअघि उच्च अदालत पाटनले गरेको ५ वर्ष कैदको फैसला नै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो।

२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको घटनामा जिल्ला अदालत काठमाडौंले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला गरेको थियो। तर उक्त फैसलाविरुद्ध तत्कालीन पुर्नरावेदन अदालत पाटनमा सरकारले पुर्नरावेदन निवेदन गरेको थियो।

पाटन अदालतले २०६९ साउन २८ गते जिल्ला अदालतको फैसला केही बदर गर्दै ५ वर्ष कैद सुनाएको थियो। उच्च अदालतको फैसलापछि २०७५ वैसाख ६ गते उनी काठमाडौंबाटै पक्राउ परेका थिए। तर पक्राउ पर्नुअघि फैसला उपर सर्वोच्च नगएका उनले त्यसपछि भने उच्चको फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।

मनाङे गण्डकी प्रदेश सभाका सांसद हुन् । ०७४ सालदेखि लगातार प्रदेश सभा सदस्य रहेका उनी हालसम्म ६ पटक मन्त्री बनिसकेका छन् । सांसद चुनिएपछि माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका उनी पछिल्लो समय स्वतन्त्र सांसदकै हैसियतमा फर्किन खोजिरहेका थिए।

सातौ पटकमन्त्री नियुक्त भएपनि उनले मन्त्रालय चित्त नबुझेपछि राजीनामा दिएका थिए । सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छन् । उनी अब करिब ३ वर्ष मात्र जेलबसे पुग्छ । file photo



प्रतिक्रिया दिनुहोस्