काठमाडौं, २७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले रवि लामिछानेको मुद्दा कमजोर बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच रातिराति छलफल हुने गरेको खुलासा गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता बिडारीले रास्वपा सभापति लामिछानेको मुद्दा कमजोर बनाउनेबारे छलफल भइरहेको खुलासा गरेका हुन् ।
बरिष्ठ अधिवक्तासमेत रहेको बिडारीले रास्वपा सभापति लामिछानेले एमालेसमक्ष आत्मसमर्पण गरेको खण्डमा मुद्दालाई कमजोर बनाउन ओली सरकार तयार रहेको बताए । बिडारीले रास्वपा र एमालेबीच समझदारी भएर सरकारले उनको मुद्दा कमजोर बनाउने र प्रमाण पेश नै नगर्दिने खतरा रहेको बताए ।
‘अहिले पनि सरकारले रविले मुद्दा जित्नेगरी मुद्दा दर्ता गर्न पनि सक्छ । यदि अहिलेको सरकारसँग रजिजीले आत्मसमर्पण गरे भने । त्यो आत्मसमर्पण गरेको जनतालाई थाहा हुँदैन । त्यो भित्री कुरा हो । अहिले पनि वार्ता, छलफल चलिरहेको छ । दिउँसो, दिउँसो नारा छ, भित्र–भित्र वार्ता छ । अब मुद्दा लाग्छ, लाग्छ, तर कमजोर पार्दिने, प्रमाण पेश नगर्दिने,’– उनले भने ।
साथै, रवि लामिछाने गृहमन्त्री रहँदा नै उनीविरुद्धका प्रमाणहरु नष्ट भइसकेको नेता बिडारीको दाबी छ । उनले सहकारीको निर्णय गायव गराएको, गोर्खा मिडिया नेटवर्कले ऋण लिन पेश गरेका सबै निवेदन गायव गरिएको, निर्णय गरेको माइन्यूट गायव गरिएको उनको आरोप छ ।
संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई आधार बनाएर मुद्दा दायर गरिएको खण्डमा लामिछानेले मुद्दा जित्ने सम्भावना ९९ प्रतिशत रहेको पनि उनले दाबी गरे । लामिछानेले आत्मसमर्पण गरेको खण्डमा सरकारले सोही प्रतिवेदनको आधारमा मुद्दा अगाडि बढाउने उनको भनाइ छ ।