Logo

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, मन्त्री हुने यी हुन् एमालेका सम्भावित अनुहार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी थालेका छन् । केही दिनभित्रमै आफ्नो दल नेकपा एमालेका केही मन्त्री हटाएर नयाँलाई ल्याउने तयारीमा ओली छन् । यसबारेमा सत्ता साझेदार दल नेपाली कांग्रेससँग पनि ओलीले छलफल गरिसकेका छन् । उल्लेख्य परिणाम दिन नसकेका केही मन्त्री हटाउने प्रधानमन्त्री ओलीको तयारी छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर तेस्रो साता चीन भ्रमणमा जाँदैछन् । ओली चीन जानुअघिनै आफू नेतृत्वको क्याबिनेट हेरफेर गर्ने तयारीमा जुटेका छन् । ओलीले आफू नेतृत्वको सरकारमा सामेल भएका तर, जनतामा विश्वास दिलाउन नसकेका केही मन्त्री फेर्ने तयारी गरेको एमाले स्रोतले पुष्टि गरेको छ । यसरी फेरिने मन्त्रीको सूचीमा एमालेका मात्र ४ मन्त्री परेको स्रोतको दाबी छ ।

सय दिन पुगेलगत्तै सरकारको गियर फेर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले एमालेका चार जना मन्त्रीसहित कांग्रेसका केही मन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । मन्त्रीहरूको काम गराइमा गुनासो आएको र काममा सुधार गर्न नसकेपछि हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली पुगेको स्रोतको दाबी छ । गत ३० असारमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री ओलीले २७ भदौमा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । उक्त कार्यसम्पादन सम्झौताअनुसार मन्त्रीहरूले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री असन्तुष्ट बनेको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीले एमालेबाट मन्त्री बनेका बलराम अधिकारी, दामोदर भण्डारी, देवेन्द्र दाहाल र राजकुमार गुप्तालाई हटाउन चाहेको बालुवाटार स्रोतको दाबी छ । अधिकारी भूमि व्यवस्था तथा सहकारी गरिबी निवरण, भण्डारी उद्योग, दाहाल भौतिक पूर्वाधार तथा यातायात र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । भण्डारीमाथि मन्त्रालयको काममा भन्दा बाहिरी काममा ध्यान दिएको आरोप लाग्ने गरेको छ भने गुप्ताले कर्मचारी सरुवा बढुवामा अनैतिक काम गरेको गुनासो दिनप्रतिदिन बढ्दो छ ।

चौथो पटक देशको प्रधानमन्त्रीको कुर्सीमा आसिन प्रधानमन्त्री ओलीमाथि यस कार्याकालमा काम गरेर देखाउनुपर्ने चुनौती रहेको छ । देशमा दिनप्रतिदिन बढ्दै गइरहेको निरासालाई चिर्नेगरि कामगर्ने साम्थ्र्य राख्ने नेतालाई ओलीले आफ्नो क्याबिनेटमा समेट्ने तयारी गरेका छन् ।

को को छन् मन्त्रीको चर्चामा ?

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी थालेसँगै मन्त्री बन्ने नाम पनि चर्चामा आउन थालेको छ । ओलीले जुन प्रदेशका मन्त्री हटाईएको छ सोही प्रदेशको अर्को सांसदलाई मन्त्री बनाउनेगरि तयारी थालेका छन् । त्यसो हुँदा मन्त्रीका लागि कोशीबाट पार्टी सचिव योगेश भट्टराईको नाम चर्चामा रहेको छ । यसअघि गत साउनमै मन्त्री बन्ने कन्र्फम हुँदा लास्टमा उनको नाम काटिएको थियो । यसपटक ओलीले उनीमाथि न्याय गर्ने एमालेका नेताहरु बताउँछन् ।

त्यस्तै गोकुल बास्कोटा र सांसद तारा लामा तामाङ पनि मन्त्री हुने सूचीमा छन् । सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद दामोदर भण्डारी र तारा लामा मात्र रहेको हुँदा उनको मन्त्री बन्ने सम्भावना बलियो रहेको बताईन्छ ।

योगेश र गोकुलमध्ये एक जनाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा पाउने देखिन्छ । सचिव भट्टराई पछिल्लो समय प्रधानमन्त्री ओलीको निकट देखिँदै आएका छन् । कुनैबेला ओलीका अत्यन्तैनिकट बनेका बास्कोटा भने हाल ओली कित्ताबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीनिकट बनेका छन् । ओलीले चाहेमा योगेश मन्त्री बन्ने देखिन्छ भने पूर्व राष्ट्रपति भण्डारीलाई कोटा छुट्याउनुपर्ने अवस्था आएमा बास्कोटाले मन्त्री खाने सम्भावना छ ।

त्यस्तै मधेशबाट जुलीकुमारी महतो महासेठको नाम पनि मन्त्री हुने सम्भावित पात्रमा परेको छ । धनुषाबाट ५ दलीय गठबन्धनलाई हराएर प्रत्यक्ष चुनाव जितेकी जुलीलाई प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिनसक्ने चर्चा छ ।

यता पार्टी सचिव समेत रहेका नेता छविलाल विश्वकर्मालाई पनि यसपटक आफ्नो क्याबिनेटमा सामेल गर्ने ओलीको तयारी छ । छविलालको नाम पनि अघिल्लो पटक मन्त्रीका लागि फाइनल भएपनि अन्तिममा काटिएको थियो । पदाधिकारी तहको नेता भएको र दलित समूदायबाट आएको हुँदा उनी यसपटक मन्त्री हुने सम्भावना रहेको छ । यसअघि नै ओली सरकारमा दलितको प्रतिनिधित्व नभएको भन्दै चर्को आलोचना भएको थियो । सो आलोचनाबाट मुक्त हुन ओलीले कांग्रेस सांसद रुपा विकलाई वन राज्यमन्त्री बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्