Logo

मानव तस्करीका आरोपित एमाले नेता अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं, २७ कार्तिक । मानव तस्करीका आरोपित एमाले नेता एवं कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पूर्वमन्त्री अधिकारीलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

एमाले नेता अधिकारी मानव तस्करीको आरोपमा गत कार्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनलाई जहाजमार्फत काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अदालतले दिएको समय सकिएसँगै आज उनलाई पुनः उपस्थित गराइएको हो । अधिकारीलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिन माग गरिएपनि अदालतले ७ दिनको लागिमात्रै अनुमति दिएको हो ।

जापानमा आयोजित एक कार्यक्रम जान तत्कालीन मन्त्री अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेलाई लिएर गएको खुल्न आएको थियो । जापानको अध्यागमन विभागले मन्त्री अधिकारीसँग गएका तीन जनासहित उनलाई पनि डिपोर्ट गरेपछि सो घटना बाहिरिएको थियो ।

सो घटनामा मन्त्री अधिकारीसँग जापान गएका तीन जनासहित ६ जनालाई मन्त्रीले सोही समय पक्राउ गरेको थियो । मन्त्री अधिकारीलाई अनुसन्धानको दायरा बाहिर राखिएको भन्दै आलोचना भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । तत्कालीन मन्त्री अधिकारीसँग जापान गएकाहरुले आफूहरुले जनही १० देखि १३ लाख रुपैयाँसम्म बुझाएर गएको बयान दिएको प्रहरी स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्