काठमाडौं, २८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले आसन्न स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार आसन्न स्थानीय तह उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने पार्टीको नीति रहेको छ । तर, आवश्यक्ताअनुसार सहकार्य गरेर अगाडि बढ्न भने सकिने उनले बताए । यसको व्यवस्थापन स्थानीय तहले नै गर्ने उनले बताए । केन्द्रीयस्तरबाटै गठबन्धनको घोषणा गरेर भने अगाडि नबढ्ने उनले बताए ।
‘गठबन्धन गर्ने नीति हाम्रो छैन । आफ्नै उम्मेदवार उठाउने, अगाडि बढ्ने हो । तर, कहीँकहीँ सहकार्य हुनसक्छ, सबैको त्यस्तो अनुकूलता नपर्न सक्छ । कसैलाई सहयोग गर्न पर्यो र सहयोग लिनुपर्यो भने त्यो चाहीँ सहायक कुरा हो । गठबन्धनको रुपमा चाहीँ जाँदैनौं,’– रिपोर्टर्स नेपालका लागि सक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष खतिवडाले भने ।
स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मनोनयन दर्ता आगामी मंसिर २ गतेका लागि तोकिएको छ । File Photo/RN