Logo

एकीकृत समाजवादीले ईशानाथ-७ को वडाअध्यक्षमा सदरे आलमलाई उम्मेदवार बनाउने



काठमाडौं, २८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले शेख सदरे आलमलाई रौतहटको ईशानाथ नगरपालिका वडा नम्बर–७ को वडाअध्यक्षको उम्मेदवार बनाउने भएको छ । युवा नेता आलमलाई पार्टीले सर्वसम्मत रुपमा वडाअध्यक्षको उम्मेदवार चुनेको हो ।

गत स्थानीय तह निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष शेख खलीउल्लाहको गत २०७९ चैत्र २६ गते निधन भएको थियो । कार्यवहाक वडा अध्यक्षले जनताका काम प्रभावकारी ढंगले सम्पादन गर्न नसकेको भन्दै शेख सदरे आलमले उपनिर्वाचनका लागि सरकारको ध्यानाकार्षण गराउँदै आएका थिए । अन्ततः उनलाई नै पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जनताको सेवा गर्नका लागि वडा अध्यक्षको उम्मेदवार बनेको र जनताले जिताउनेमा विश्वस्त रहेको नेता आलमले बताए । नेता आलमले आफू निरन्तर रुपमा जनताको माझमा नै रहेर काम गरिरहेको र जनताको सुख, दुःखमा सहभागी भइरहेको बताए । उनले आफूलाई जनताले अत्याधिक मत दिएर विजयी गराउने बताए ।

‘म पदमा नरहँदा पनि जनताको माझमा नै छु । जनताको सुख, दुःखमा साथ दिइरहेको छु । मैले समाजका लागि गरेको योगदानको कदर गर्दै मलाई जनताले अत्याधिक मत दिएर जिताउनेमा म विश्वस्त छु । म जनताको थप सेवा गर्नका लागि वडाअध्यक्षको उम्मेदवार बनेको हुँ । मलाई वडा अध्यक्ष बनेर कुनै लाभ लिनु छैन, जनताको सेवा नै मेरो धर्म हो,’– उनले रिपोर्टर्स नेपालसँग भने ।



प्रतिक्रिया दिनुहोस्