काठमाडौं । सत्तारुढ दल नेकपा एमाले इलामको १०औं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले उपाध्यक्ष गुरु बरालले आज जिल्ला अधिवेशन उद्घाटन गर्दैछन् । अधिवेशनले १ अध्यक्षसहित ५ पदाधिकारी र १२५ जनाको जिल्ला कार्यसमिति चयन गर्नेछ । अधिवेशनका लागि जिल्लाभरबाट ५८७ जना प्रतिनिधि छनोट भएका छन् ।
इलामको नयाँ अध्यक्षका लागि अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा। देवी क्षेत्री दुलाल प्रमुख प्रतिस्पर्धी देखिएका छन् । उनीहरूले नेताहरूसँग लबिङ थालेका छन् ।उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, वर्तमान सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उम्मेदवारी दिने बताएका छन् ।
सचिवमा वर्तमान उपसचिव रवीन्द्र सुवेदी र सचिवालय सदस्य प्रकाश अधिकारी आकाँक्षी छन् । चुनाव हुने अवस्था आएमा भट्टराई र बरालबीच प्रतिस्पर्धा हुने एमाले
नेताहरु बताउँछन् ।
गत वैशाखमा नै जिल्ला अधिवेशन हुने भनिएपनि इलाम-२ को संघीय उपनिर्वाचनले गर्दा अधिवेशन रोकिएको थियो । इलाम २ बाट निर्वाचित एमाले उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपछि त्यहाँ उपनिर्वाचन भएको थियो ।