काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंग्याएको छ ।
एमालेले गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शाही गत मंगलबार एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसमेत भइसकेका शाही एमाले प्रवेश गरेसँग त्यहाँको चुनावी परिणाम उलटफेर हुने दाबी एमालेले गरेको छ ।
गत निर्वाचनमा महाबुमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका लछुमन गुरुङ अध्यक्ष निर्वाचित हुँदा एमाले दोस्रो र एकीकृत समाजवादीबाट अध्यक्ष लडेका शाही तेस्रो भएका थिए । शाही २०७४ सालमा पनि महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
शाही त्यतिबेला ३ हजार ५२२ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले २ हजार ९०० मत ल्याएका थिए।
शाही २०७९ को निर्वाचनमा पनि अध्यक्षका उम्मेदवार थिए। तर त्यो चुनावमा भने उनी तेस्रो भए। गत निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लक्ष्मण गुरूङ अध्यक्ष निर्वाचित भएका थिए। उनले २ हजार ९७९ मत ल्याए।
निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका थिए। त्यतिबेला तेस्रो भएका शाहीले २ हजार २६८ मत ल्याए।
आगामी मंसिर १६ गते देशभरका ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि २ गते मनोनयन दर्ता हुँदैछ । महाबुको अध्यक्षका लागि कांग्रेसले झलक भण्डारी र रास्वपाले प्रकाश बुढालाई उम्मेदवार बनाएको छ ।