काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगपतिहरुले सरकारले दिएको समय सीमाभित्र विद्युत बक्यौता नतिरे भयानक समस्या आउने टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उद्योगपतिहरुले सरकारले दिएको समय सीमाभित्रै विद्युत बक्यौता तिर्नुपर्ने बताएका हुन् । उनले धनी उद्योगपतिहरुलाई चाहीँ विद्युत बक्यौता मिनाह गर्दिने र लाखौं गरिब जनताबाट उठाउने कुरा स्वीकार्य हुन नसक्ने उनले बताए ।
यस्तो प्रकारको विवाद कायमै रहेका जनतामा पनि विद्युत बक्यौता किन तिर्ने भन्ने खालको नकारात्मक सोच आउनसक्ने उनले बताए । अब पनि सरकारले दिएको समय सीमाभित्र बक्यौता नतिरेको खण्डमा जनताले नमान्ने र भयानक समस्या आउनसक्ने उनको भनाइ छ ।
‘विद्युतको लाइन काट्ने, फेरी जोड्ने कुरा धेरै लामो समयदेखि चलिरहेको छ । यदि त्यो तिर्नै नपर्ने हो भने कतिपय त तिरिनै राखेका छन्, कतिपय उद्योगपति, व्यापारीहरुले त खुरुखुरु तिर्दै पनि गरेका छन् । कतिपयले तिर्न अटेर गरिरहेका छन् । करोडौं तिर्नुपर्ने धनी उद्योगपतिहरुलाई चाहीँ मिनाह गर्दिने, लाइन जोड्नुपर्ने, उनीहरुले नतिरेपनि हुने अनि लाखौंलाख गरिब जनताहरुले बिल नतिर्ने हो भने के हुन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘धनीहरुको लाइन जोड्दिनुपर्ने, हामीले चाहीँ किन तिर्ने भन्ने जनतामा आक्रोश उत्पन्न हुन्छ । उद्योगपतिहरुलाई प्रोत्साहित त गर्नैपर्यो । केही समस्या हो भने अलिकति उदारता अपनाउन पनि सकिएला । कतिले तिर्दै पनि आएका छन् । केही ठूलाले नतिर्दा नि हुन्छ ? सरकारले समय दिएको छ, १५ दिनभित्र तिर्नुपर्यो । जनताले मान्दैनन् फेरि । भयानक संकट आउँछ फेरि ।’
नेपाल विद्युत प्राधिकरणले गत कार्तिक ८ गते बक्यौता नतिर्ने २८ वटा उद्योगको लाइन काटेको थियो । सरकारले (गत आइतबार) कार्तिक २५ गते मन्त्रिपरिषद्को बैठकबाट २४ घण्टाभित्र लाइन काटिएका उद्योगहरुमा लाइन जोड्न उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो । प्राधिकरणको बोर्ड बैठकले पनि लाइन जोड्ने निर्णय गरेर हिजोदेखि पुनः लाइन जोड्ने प्रक्रिया सुरु भइसकेको छ । सरकारले १५ दिनभित्र बक्यौता उठाउनसमेत निर्देशन दिइसकेको छ ।