Logo

नेपालले बीआरआई धान्न सक्ने अवस्था छैनः एमाले उपाध्यक्ष ज्ञवाली (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनीसीएटीभ (बीआरआई) नेपालजस्तो गरिब देशले धान्न नसक्ने बताएका छन् । आज (बिहिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै एमाले उपाध्यक्ष ज्ञवालीले नेपालले बीआरआई परियोजना सकेसम्म ऋणमा लिन नहुने बताएका हुन् । उनले सकेसम्म बीआरआई परियोजना अनुदानमा लिनुपर्ने र सबै अनुदानमा लिन नसकिँदा केही अनुदान र केही एकदमै थोरै ब्याजदरमा लिनुपर्ने बताए ।

‘बीआरआई धेरै ठूलो प्राजेक्ट हो । त्यो धेरै ठूलो प्रोजेक्ट भएको हुनाले हाम्रोजस्तो गरिब देशले धान्न सक्ने अवस्था रहँदैन । सकेसम्म हामीले अनुदान लिनका लागि अनुरोध गर्ने हो चीनलाई । अब चाहीँ केही अनुदान, थोरै ऋणको रुपमा अत्यन्त न्यून ब्याजदरमा पनि लिन सकिन्छ,’– उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली टोली आगामी मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने कार्यतालिका तय भएको बताउँदै उनले त्यसको तयारी भइरहेको जानकारी गराए । ‘सरकारले सम्पूर्ण तयारी गर्दैछ, अब के–के विषय त्यहाँ उठाउने भन्नेबारेमा छलफल चलिरहेको छ । चीनले सुरु गरेका कतिपय पुराना कार्यक्रमहरु छन्, ती पुरा भएका छैनन् । त्यो पूरा कसरी गर्ने मुख्य कुरा त्यो होला । बीआरआईको बारेमा पनि छलफल होला । उहाँहरु योजना बनाउँदै हुनुहुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्