काठमाडौं । आगामी मंसिर १६ गते हुने कीर्तिपुर नगरपालिकाको मेयरमा राष्ट्रिय स्वतन्त्त पार्टीले जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । रास्वपाले उम्मेदवार बन्न इच्छुकसँग आवेदन मागेको थियो । कार्कीले मात्र आवेदन दिएका छन् ।
रास्वपाले उम्मेदवार बन्न इच्छुकलाई आवेदन आह्वान गरेकोमा कीर्तिपुर नगरपालिका प्रमुखका लागि कार्कीको मात्रै उम्मेदवारी परेको हो।
उनको मात्रै आवेदन परेपछि एकल नामलाई केन्द्रमा सिफारिस गरिएको रास्वपा निकट स्रोतले जानकारी दियो। यद्यपि, यसको औपचारिक घोषणा हुन भने बाँकी छ।
उम्मेदवारको सिफारिसमा परेका कार्की पूर्व कांग्रेसी हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा काठमाडौं जिल्ला सदस्य बनेका उनी केही समयअघि रास्वपामा प्रवेश गरेका थिए ।
कीर्तिपुरको मेयर राजकुमार नकर्मीको निधन भएपछि मंसिर १६ गते चुनाव हुन लागेको हो । कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई, माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।
राजमान मानवले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएको छ र नाम टुंगो लगाएको छैन ।