Logo

देशको मूल समस्या राजनीतिक अस्थिरता होईन, म ९ महिना प्रधानमन्त्री हुँदा कामले देशभर तरङ्ग पैदा गरिदिएको थिएँः माधव नेपाल



काठमाडौं, २९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको समस्याका मूल कारण राजनीतिक अस्थिरतालाई मात्रै लिन नहुने बताएका छन् । आज (बिहिबार) एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) को वार्षिक प्रकाशन नेपाल सम्वत ११४५ को क्यालेण्डर विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आफू ९ महिना प्रधानमन्त्री बन्दा छोटो समयमा नै विकासका कामले तरङ्ग पैदा गराएको बताएका हुन् ।

आफूले सरकारमा रहेको बेला गफमात्रै नभएर काम गरेर देखाएको उनले बताए । अध्यक्ष नेपालले मर्निङ सोज् द डे भनेझैं आफूले गरेपछि हुँदोरहेछ भन्ने प्रमाण पेश गरेको बताए । उनले आफू नेतृत्वको सरकारले गरेको कामबारे नेता तथा कार्यकर्ताले प्रचार प्रसार नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘हाम्रो देशको समस्याको मूल कारण सरकारको अस्थिरता होईन । ९ महिना हामी सरकारमा हुँदाखेरी उद्धाहरण पेश गरेका छौं, गफ होईन । काम गरेर देखाएका छौं, साह्रा देशमा तरङ्ग पैदा गरिदियौं । आफ्नो गाउँ आफैं बनऔ, ९ स को अभियानदेखि लिएर, बृद्ध भत्ताको कुरा, सुकुम्बासीलाई जग्गा बाँड्ने, ६० हजार परिवारलाई जग्गा बाँड्ने कामदेखि लिएर, ‘मर्निङ सोज् द डे ।’ गर्नेले छोटो समयमा गर्छ,’– उनले भने ।

साथै, गणतन्त्र ल्याउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा आफ्नो धेरै ठूलो भूमिका रहेको उनले दाबी गरे । कांग्रेसले बेबी किङ्गको कु्रा गरेर गणतन्त्र ल्याउने बेलामा खास्सै भूमिका खेल्न नसकेको र ओलीले त गणतन्त्रको विरोध नै गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्