Logo

सरकार भ्रष्टाचारीलाई पुरस्कृत गर्न र निर्दोषलाई दुःख दिनतिर लागेको छः रास्वपा नेता पराजुली (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सरकार भ्रष्टाचारीलाई पुरस्कृत गर्ने र निर्दोषलाई दुःख दिनेतिर लागेको बताएका छन् । आज (बिहीबार) रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकार भ्रष्टाचारमा मुछिएकाहरुलाई बचाउन, पुरस्कृत गर्न र निर्दोषहरुलाई दुःख दिनतिर लागेको बताएका हुन् ।

‘सरकार चलाउने दलहरुले गरेको राजनीतिक प्रतिशोधविरुद्ध रास्वपा यतिखेर आन्दोलनमा छ । जनपक्षीय मुद्दालाई सम्बोधन गर्नुपर्ने बेलामा ती मुद्दालाई सम्बोधन नगरी, पीडित जनतालाई न्याय दिन पाटोमा काम नगरी भ्रष्टाचारमा मुछिएकाहरुलाई बचाउन, पुरस्कृत गर्न र निर्दोषहरुलाई दुःख दिनतिर लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध पनि खनिएको छ,’– उनले भने ।

साथै, रास्वपाले स्थानीय तहको निर्वाचनलाई सरकारको रवैयाविरुद्धको आन्दोलनको रुपमा लिएको पनि उनले बताए । कांग्रेस–एमाले गठबन्धन सरकार निरङ्कुशतातिर जाने प्रयासमा रहेको पनि उनले बताए । ‘राजनीतिक प्रतिशोध साँधेर रास्वपामाथि गरेको यो षड्यन्त्र र हामीले जनपक्षीय मुद्दाहरु उठाएका छौं, ती मुद्दाहरुलाई सरकारले सम्बोधन नगरेकाले स्थानीय तहको उपनिर्वाचनलाई आन्दोलनको रुपमा लिएर हामी आम जनतामाझ जाँदैछौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्