काठमाडौं, २९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले सामाजिक सञ्जालका विषयलाई लिएर राज्य दण्डा बर्साउनेतिर लाग्न नहुने बताएका छन् । आज (बिहीबार) अभिव्यक्ति स्वतन्त्रताको कसीमा समाजिक सञ्जाल विधयेक विषयक छलफलमा आफ्नो धारणा राख्दै उनले सामाजिक सञ्जालमा आएका विषयमा राज्यले भावनामा आएर दण्डा बर्साउँदा निरङ्कुशतातिर जाने बताएका हुन् ।
‘सामाजिक सञ्जालहरुमा एउटा स्वच्छन्दता छ । स्वतन्त्रताको नाममा त्यो स्वच्छन्दतातिर गएको छ । अझ एआईलाई दुरुपयोग गरेर आजभोलि हेर्नुभयो भने शीर्ष नेताहरुको टाउकाहरु जोडेर, दुरुस्तै बोली बनाएर, गीत बनाएर, अश्लिल प्रकारका भिडिओहरुसमेत उत्पादन भएको छ । तर, राज्य चाहीँ भावनामा आएर दण्डा बर्साउनेतिर गयो भने निरङ्कुश हुन्छ,’– उनले भने ।
सामाजिक सञ्जालमा आएका समस्याहरुलाई व्यवस्थापन गर्न आवश्यक भएपनि यस्ता विषयमा राज्य निरङ्कुश हुन नहुने उनले बताए ।