काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति, प्रतिनिधि सभा सदस्य एवं उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कान्छाराम कन्स्ट्रक्सन नै आफ्नो नरहेको बताएका छन् । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिमा उनको कम्पनीहरुले देशभरका धेरै ठेक्का अलपत्र बारेको बारे कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न उठाएपछि उनले आफूले प्रतितिनिधि सभा सदस्यका लागि टिकट पाउनुअघि नै कान्छाराम कन्स्ट्रक्सन छोडेको बताएका हुन् ।
राज्यमन्त्री तामाङले आफू अहिले सो कम्पनीमा नरहेको र कानुनले ठहर्याएको जिम्मेवारी लिन भने तयार रहेको बताए । ‘म कान्छाराम कन्स्ट्रक्सन कम्पनीमा साँढे दुई वर्ष भयो, म माननीय हुनुभन्दा अगाडि त्यो संस्थाबाट हात उठाएर बसेको व्यक्ति । मेरो पार्टीले पठाएर म आज उर्जा राज्यमन्त्री छु । कानुनभन्दा ठूलो केही पनि हुँदैन । कानुनले ठहर्यो भने एक मिनेटमा यो मन्त्रीबाट छोडेर म आफ्नो पेशा, व्यपारमा काम गर्न तयार छु,’– राज्यमन्त्री तामाङले भने ।
आफूले २०४४ साल माघ १९ गते कान्छाराम कन्स्ट्रक्सन दर्ता गरेको भएपनि अहिले सो कम्पनीको स्वामित्व आफूसँग नरहेको उनले बताए । ‘अहिले सबै जिम्मा लगाएर त्यो पेशाबाट म बाहिर छु,’– उनले भने ।
राज्यमन्त्री तामाङ विवादित निर्माण व्यवसायी हुन् । उनले लिएका ठेक्काहरु वर्षौसम्म पूरा नभएकोदेखि मजदुरहरुलाई ज्याला नदिएकोसम्म विवाद सतहमा आउने गरेको छ । हिजोमात्रै कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि. लाई कर्णाली प्रदेश सरकार पूर्वाधार विकास निर्देशनालयले समयमै ठेक्का सम्पन्न गर्न ताकेता गर्दै सार्वजनिक सूचना प्रकाशन गरेको थियो । उक्त ठेक्काको म्याद आगामी मंसिर २० गतेसम्म मात्रै छ । प्रदेश राजधानी विरेन्द्र नगरको रोड विस्तारको काम ठेक्का लागेको ३ वर्ष वितिसक्दा पनि सुरु भएको छैन । २०७८ भदौ १७ गते उक्त रोड निर्माणको लागि ठेक्का लागेको थियो । तर, अहिलेसम्म ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनले अटेर गरी निर्माण कार्य अलपत्र पारेको छ ।
विवादित ठेकेदार पूर्णबहादुर उर्फ कान्छारामले आफ्नै निर्वाचन क्षेत्रको ठेक्कासमेत समयमा सम्पन्न नगरेका कारण त्यहाँका जनताले आन्दोलन नै गर्नुपरेको थियो । देशभरका विभिन्न ठाउँमा उनको ठेक्का अलपत्र अवस्थामा छ । राज्यमन्त्री कान्छारामको उक्त कम्पनी सडक विभागको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २ वर्ष छ महिनाका लागि कालो सूचीमा समेत राखिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने कान्छारामले पद र शक्तिको दुरुपयोग गरी विभिन्न ठेक्का अलपत्र पार्दै आएका छन् ।