काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामलाई कांग्रेसले गलत भन्न सक्नुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले गरेका गलत कामलाई गलत भन्न नसके कांग्रेस नबाँच्ने बताएका हुन् ।
‘सरकरले गरेको निर्णयहरु गलत छन् भने गलत भनेर भन्न सक्नुपर्छ । अनिमात्रै नेपाली कांग्रेस बाँच्छ, नत्र बाँच्दैन,’– उनले भने ।
साथै, उनले आफूले गुट चलाएको भनेर वाइयात आरोप लगाइएको बताए । उनले आफूले कुनै गुटगत राजनीति नगरेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाले ४/५ जनालाई बोलाएर मिटिङ गर्दा गुट नहुने र आफूलाई मन पराउने साथीहरुले भेट्दा गुट हुने भन्दै आक्रोश व्यक्त गरे ।
‘हाम्रो पार्टी सभापतिले ४÷५ जनालाई बोलाएर मिटिङ गर्नुभयो भने त्यो गुट हुँदैन । शेखर कोइरालाले बोलाउँदा चाहीँ गुट हुने ? साथीभाइ आउँछन्, भेट्छन्, मलाई मन पराउँछन्, माया गर्छन्,’– उनले भने ।