काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलनका एजेण्डाहरु सार्वजनिक गरेको छ । आज (आइतबार) पत्रकार सम्मेलन गरी रास्वपाले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो । रास्वपाका सह–प्रवक्ता मनिष झाले दोस्रो चरणको आन्दोलनको एजेण्डा सार्वजनिक गरेका हुन् ।
आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्रसहित दोस्रो चरणका आन्दोलनको एजेण्डा बुझाउन खोजेको भएपनि त्यो अवसर आफूहरु नपाएको उनले सुनाए । प्रधानमन्त्री ओलीले ‘रास्वपाले ज्ञापनपत्र लिएर आउँदैछ, फोटोसहित समाचार दिन्छु’ भनी खिसीट्यूरी गर्दै हिँडेपनि आफूहरुलाई भने ५ मिनेट समय दिनसमेत नमानेको उनले सुनाए ।
रास्वपाले प्रहरी हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर छानविन गर्न माग गरेको छ । रास्वपाले विभिन्न ६ वटा माग सार्वजनिक गर्दै ८ गतेदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने बताएको छ ।