काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मकै पोल्ने र जुत्ता पालिस गर्नेको ८८ अर्ब पैसा सहकारीबाट अपचलन भयो भनेर इमोश्नल ब्ल्याकमेलिङ गरिएको टिप्पणी गरेका छन् । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले प्रतिवेदनमा औंल्याएको ८८ अर्ब हिनामिनामध्ये ८५ अर्ब पैसा राजनीतिक भ्रष्टाचारबाट आएको दाबी गरेका हुन् । उनले एक/दुई अर्ब पैसा मकै पोल्ने र जुत्ता पालिस गर्नेहरुको पनि हुनसक्ने बताउँदै बाँकी भ्रष्टाचारबाट आएको पैसा नै रहेको दाबी गरेका हुन् ।
नेता झाले एक अर्बभन्दा माथि पैसा सहकारीमा राख्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्नसमेत सरकारलाई चुनौति दिए । ‘४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको भन्ने कुरा प्रतिवेदनमा छ । तपाईँहरुलाई लाग्छ कि त्यो सबै मकै पोल्ने र जुता पालिस गर्नेको पैसा हो । होईन नि, त्यो राजनीतिक भ्रष्टाचारको पैसा हो । हामी यो पनि प्रस्ताव गर्छौं कि एक करोडभन्दा धेरैको स्रोत खुलाउनुपर्ने बाध्यता गर्दिओस् न । अनि पुराना पार्टीले ब्ल्याक मनीको प्राक्टिस गरेको पैसाहरु कति सहकारीमा छन् ? किन कि सहकारीमा त स्रोत खुलाउनु पर्दैन । होला एकदुई अर्ब उहाँहरुको पनि पैसा होला । बाँकी ८५ अर्ब राजनीतिक भ्रष्टाचार गरेको पैसा हो,’– उनले भने ।