काठमाडौं, २ मंसिर । नेकपा (एकीकृत समाजवादी) का युवा नेता शेख सदरे आलमले रौतहटको ईशानाथ नगरपालिका वडा नम्बर–७ को वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् । युवा नेता आलमलाई पार्टीले सर्वसम्मत रुपमा वडाअध्यक्षको उम्मेदवार चुनेको थियो । आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले आज मनोनयनका लागि समय तोकेको थियो ।
गत स्थानीय तह निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष शेख खलीउल्लाहको गत २०७९ चैत्र २६ गते निधन भएको थियो । कार्यवहाक वडा अध्यक्षले जनताका काम प्रभावकारी ढंगले सम्पादन गर्न नसकेको भन्दै शेख सदरे आलमले उपनिर्वाचनका लागि सरकारको ध्यानाकार्षण गराउँदै आएका थिए ।
मनोनयन दर्ता पश्चात नेता आलमले आफूलाई बहुसंख्यक जनताको साथ रहेको र आफ्नो जितको आधार नै जनतामा केन्द्रीत राजनीति रहेको बताए । उनले आफू अविराम राजनीतिमा रहेको र निरन्तर रुपमा जनताको माझमा नै रहेर काम गरिरहेको, जनताको सुख, दुःखमा सहभागी भइरहेकाले पनि जित सुनिश्चित रहेको बताए ।