काठमाडौं । जनमत पार्टीको तर्फबाट सांसद बनेकी गोमालाभ सापकोटाको सांसद पद गुम्ने भएको छ । उनलाई पार्टीले आचरण अनुकुलको काम नगरेको आरोप लगाउँदै सांसदबाट हटाउन लागेको हो ।
जनमत पार्टीका अध्यक्ष डा सीके राउतले ०८० साल फागुनमा नै सापकोटाले पार्टी हित विरीतको काम गरेको भन्दै पदमुक्त गरिदिन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो । तर,सभामुख घिमिरेले राजनीतिक दल सम्बन्धी ऐनको उल्लंघन नभएको भन्दै कारबाही गर्न मानेनन् । त्यसयता जनमतले चार पटक सभामुख र संसद सचिवालयलाई पत्र पठाईसकेको छ ।
जनमत पार्टीले दोस्रो पटक साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको सूचनासहित संसदीय दलको कार्यालयबाट २०८० चैत १ पत्र पठायो । यस्तै सांसद सापकोटालाई पार्टीले कारबाही गरेकाले त्यसअनुसार सूचना टाँस गरिदिन सभामुख घिमिरेलाई आग्रह गर्दै २०८१ भदौ २७ मा तेस्रो पत्र पार्टीले पठाएको थियो ।
चौथो पत्र भने २०८१ कार्तिक २७ गते पार्टीले संसद् सचिवालयमा पुर्याएको छ । जसमा सांसद सापकोटालाई कारबाहीको सूचना टाँस गर्न माग गरिएको छ ।
जनमत पार्टीको निरन्तरको ताकेतापछि सभामुख घिमिरेले उनलाई पदमुक्त गरेको सूचना टाँस्ने तयारी गरेका छन् । मंगलबारसम्ममा सांसद सापकोटा पदमुक्त भएको सूचना संसद सचिवालयले टास्ने तयारी गरेको छ ।
सांसदबाट हट्न लागेकी सापकोटाले पार्टीमा आफ्न्तलाई भर्ती गरेको,आफ्न्तलाई स्वकिय सचिव राखेको, पार्टीको निर्णय नमानेको तथा पार्टी फुटाएर लोसपामा जान लागेको लगायतका आरोप लागेको छ । तर, सापकोटाले भने आरोप अस्वीकार गर्दै आएकी छन् । सभामुख घिमिरेले सूचना टाँसेर पदमुक्त गरेमा उनी अदालतमा जानेछिन् । सर्वोच्च अदालतले सांसदबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिए संसद्मा फर्किनेछिन् भने अन्तरिम आदेश नपाए उनको सांसदको यात्रा तत्काललाई टुंगिनेछ ।