काठमाडौं, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले देशका सबै राजनीतिकर्मीहरु जानी नजानी प्रचण्डपथमा हिँडिरहेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डलाई सबै नेताहरुले गाली गरेपनि उनीहरु प्रचण्डतन्त्र र प्रचण्डपथमै हिँडिरहेको बताएका हुन् ।
उनले नेपालको संविधान २०७२ लाई प्रचण्डको संविधानको उपमा दिए । २०६२/०६३ पछि आएको परिवर्तनलाई पनि उनले प्रचण्डतन्त्रको संज्ञा दिए ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेसका नेताहरुले प्रचण्डलाई गाली गरेकोतर्फ लक्षित गर्दै उनले भने, ‘नेपालको संविधान २०७२ नेपालको संविधान होईन । यो प्रचण्डको संविधान २०७२ हो । जसलाई साह्रा राजनीतिकर्मीहरुले लोकतन्त्र भनिराखेका छन् । त्यो नेपालको हकमा लोकतन्त्र होईन । २०६२/०६३ पछि जे परिवर्तन आयो, त्यो प्रचण्डतन्त्र हो । त्यो प्रचण्डपथ हो, जानीनजानी सबै प्रचण्डपथमा हिँडिराखेका छन् । यद्यपि सबैले प्रचण्डलाई गाली गर्छन् फेरि ।’
साथै, नेता मिश्रले प्रचण्डपथबाट हिँडेर यो देशमा युवाहरुको भविष्य सुनिश्चित नदेखेकाले राजावादी बनेको समेत बताए । विवेकशील साझा पार्टी छाडेर राप्रपामा जानुको कारण बताउँदै उनले भने, ‘यो प्रचण्डपथबाट हिँडेर तपाईँको १० वर्षकी छोरी र ५ वर्षको छोराको भविष्य सुनिश्चित छैन भन्ने मलाई अनुभूति भयो र मैले मार्ग परिवर्तन गरेँ ।’