काठमाडौं, ४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनै नसक्ने दाबी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन नहुने र ल्याउन पनि नसक्ने बताएका हुन् । सरकारले ध्यादेश ल्याएको खण्डमा देश झन बिगारेको ठहरिने उनको टिप्पणी छ ।
‘सबैभन्दा पहिलो कुरा सरकारले यो अध्यादेश पनि ल्याउन सक्दैन । अध्यादेश ल्याउनका निम्ति उसले जे मेहनत गर्छ, उसले मुलुकको राजनीतिलाई झन विश्रृङ्खल बनाउनका निम्ति, झन धेरै विगारेको ठहररिने छ । ल्याउन हुँदैन एउटा कुरा, ल्याउन सक्दैन पनि । ल्यायो भने त्यसको परिणाम देशमा झन गम्भीर बन्दै जान्छ,’– उनले भने ।
साथै, एकीकृत समाजवादीभित्र रहेका नेता तथा कार्यकर्ताहरु फुटको पक्षमा नरहेको उनको जिकिर छ । उनले कोहीकोही व्यक्तिलाई निराशा पैदा भएर पार्टी छाड्न सक्ने बताउँदै पार्टी कानुनी, वैधानिक र व्यवहारिक रुपमा विभाजन नहुने दाबी गरे ।
वर्तमान सरकार बेथितिको मुहान बनेको पनि उनले टिप्पणी गरे । उपाध्यक्ष खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बेथितिको विरुद्धमा एकीकृत समाजवादी उभिने पनि बताए । ‘देशमा ओलीजी र देउवाजीको सरकार छ । सरकार वेथितिको मुहान बनेको छ । हामी यसको विरद्धमा उभिनुपर्ने नै छ,’– उनले भने ।
एकीकृत समाजवादीका नेताहरु प्रेम आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीलगायतले पार्टी विभाजनको पक्षमा अभ्यास गरिरहेको भन्ने प्रश्नमा उनले उनीहरुले पनि पार्टी फुटाउन नसक्ने बताए । नेता खतिवडाले अहिले आले, श्रेष्ठ, झाँक्रीलगायतका नेताहरु दल विभाजनको पक्षमा नरहेको पनि बताए ।
‘उहाँहरुले पार्टी फुटाउने कोशिस पनि गर्नुभएको छैन । आफ्ना असन्तुष्टिहरु कहीँ राख्नुभयो होला, त्यसो हुँदा पार्टी फुटिहाल्ने पनि होईन । त्यो मेहनत गर्नुपनि हुन्न र उहाँहरुले गर्न पनि सक्नुहुन्न,’– उनले भने ।