Logo

बीआरआईबारे सत्तारुढ दलमा मतभेद सुरु, ऋणमा लिन नहुने कांग्रेसको अडान (भिडिओसहित)



काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिन नसकिने निश्कर्ष निकालेको छ । कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले नेपाल अहिले ऋण लिन नसक्ने अवस्थामा रहेको पार्टीको निश्कर्ष रहेको बताए । उनले छिमेकी राष्ट्र वा मित्र राष्ट्रहरुले दिने कुनै पनि अनुदान वा सहयोग नेपालका लागि स्वागतयोग्य र स्वीकार्य रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पनि बीआरआई परियोजना अनुदानमा रुपान्तरण गर्न अनुरोध गरिने उनले बताए ।

‘हामी बीआरआई, एमसीसी कुनै नामविशेषको प्रोजेक्ट लिने कि नलिने भन्ने होईन । अहिले नेपालले ऋण तिर्न सक्ने अवस्था छैन । त्यसमा पनि महँगो व्याजको ऋण लिन हामी सक्दैनौं ।’ उनले भने, ‘छिमेकी राष्ट्र वा मित्र राष्ट्रहरुले दिने कुनै पनि अनुदान वा सहयोग हाम्रा लागि स्वागतयोग्य र स्वीकार्य छ । तर, ऋणमा हामी लिन नसक्ने भएकाले अनुदानमा रुपान्तरण गर्न अनुरोध गर्ने भन्ने नै सरसल्लाह हो ।’

बीआरआईलाई नेपालको हितमा उपयोग गर्नका लागि अनुदान नै सबैभन्दा उपयुक्त हुने कांग्रेसको निश्कर्ष रहेको उनले बताए । कांग्रेसले बीआरआई ऋणमा लिन नहुने अडान दिइरहँदा सत्तारुढ दल नेकपा (एमाले) भने बीआरआई परियोजना कार्यान्वयनमा ल्यानुपर्ने पक्षमा छ । एमालेका नेताहरुले सस्तो व्याजदरमा भएपनि बीआरआई परियोजना कार्यान्वयनमा ल्याइनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणका क्रममा बीआरआईबारे महत्वपूर्ण समझदारी गर्ने पक्षमा छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्