काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘पर्यटक सहकारी ठग’ को संज्ञा दिएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले रास्वपा सभापति लामिछानेले सहकारीको ६७ करोडमात्रै नभएर डेढ अर्बभन्दा बढी हिनामिना गरेको दाबी गरे ।
‘उहाँ अहिले सहकारी पर्यटक ठगजस्तो हुनुभएको छ । सात वटा जिल्लामा उहाँको मुद्दा चलेको छ । ६७ करोडमात्रै होईन डेढ अर्ब हिनामिना भएको भन्ने कुरा आएको छ । हुण्डीबाट अमेरिकामा पैसा पठाएको भन्ने कुरा आएको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा धेरै कुरा खुल्नमा आएको छ,’– उनले भने ।
साथै, उनले कांग्रेस उपसभापति धनराज गुरुङको सम्बन्धविच्छेद प्रकरणबारे पनि छानविन भइरहेको बताए । उनले वर्तमान सरकारले धनराजलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको बताउँदै भ्रष्टाचारीहरु कसैले पनि उन्मुक्ति नपाउने बताए । ‘कतिपय सन्दर्भमा धनराजजीको कुरा आएको छ । उहाँको श्रीमतीसँगको डिभोर्स फेक हो कि के हो भन्ने कुरा अनुसन्धान भइरहेको छ । उहाँलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । बयान लिइसकेको छ,’– उनले भने ।
सबै सहकारी ठगहरुलाई अनुसन्धानको दायरामा ल्याउन र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार प्रतिवद्ध रहेको उनले बताए ।