Logo

शान्ति सम्झौताको १८ वर्ष: गिरिजाबाबुलाई सम्झिँदै प्रचण्डको अपील- बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य गरौं



काठमाडौं, मंसिर ५ । द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।

यसैबीच शान्तिसम्झौताको १८ वर्ष पूरा भएको अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरण गरेका छन् ।

बुधबार एक भिडिओ सन्देश जारी गर्दै प्रचण्डले शान्ति प्रक्रियामा सहकार्य गर्ने नेपाली कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका स्व कोइरालासहित सबैलाई धन्यवाद दिएका हुन् । ‘आज विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिन, दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालासहित यो प्रक्रियामा सहकार्य गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन् ।

प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशीला भएकोमा जोड दिएका छन्। ‘यहीँबाट नयाँ युगको सुत्रपात भएको मान्न सकिन्छ,’ चण्डले भनेका छन्, ‘आजको दिन हामी सबैले स्मरण गर्नुपर्ने, हामी सबैले सम्मान गर्नुपर्ने दिन हो।’

प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

‘हामी अहिले शान्ति सम्झौताको मूल स्पीरिटअनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ,’ प्रचण्डले भनेका छन्, ‘मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको थियो। आज यो प्रक्रिया निष्कर्षतिर जाँदैछ।’

प्रचण्डले यसप्रति खुसी व्यक्त गरेका छन्। ‘हामी सबै यसमा खुसी छौँ। हाम्रो प्रतिवद्धता के छ भने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न सकिन्छ।’

प्रचण्डले नेपाली जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन स्वीकारेका छन्।

‘जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन भन्ने असन्तुष्टि जनतामा छ,’ उनले भनेका छन्, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पको साथ जरुरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ। म यस अवसरमा शान्तिको निम्ति कामना गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनता प्रति पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु।’

२०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्