काठमाडौं । प्रत्येक पाँच बर्षमा लाग्ने बारको विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेला सुरु भईसकेको छ । नेपाल भारतसहित दक्षिण एशियाको शक्तिपिठ (जगता) भगतवतीको रुपमा स्थापित भएकी गढीमाईको मेला बारा जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुर गाउँमा लाग्ने गर्छ ।
दैनिक हजारौं श्रद्धालु भक्तजनहरु मन्दीरमा उपस्थित भई पुजा गरेर मनका भाकलहरु माग्ने गर्छन् । गत मंसिर १ गतेबाट सुरु भएको मेला मंसिर ३० गते समापन हुने मेला व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको मेयर उपेन्द्रप्रसाद यादवले जानकारी दिए ।
नेपालसहित भारतमा प्रसिद्धि पाएको तथा निक्कै महत्व बोकेको बहुप्रतिक्षित गढीमाई प्रतिको भावना एवं प्रेरणाबाट श्रद्धालुभक्तजनहरुले भाकल प्राप्ति भएपछि पाँच बर्षमा उपस्थित भई खुशीयालीमा पशु बली दिने गरेका छन् । एक हजार विगहा क्षेत्रफलमा लाग्ने उक्त मेलामा मेला अवधीभरीमा करिव दुई करोड भक्तजनहरु उपस्थित भई दर्शन गर्ने आयोजकको भनाइ छ ।
गढीमाईको मेलामा विशेष पूजा १७ गते देखि प्रारम्भ हुने र मंसिर २३ गते बिहान तान्त्रिक विधिबाट पुजारीले गढीमाईलाई पञ्चबलि दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिइने गढीमाईका मूल पुजारी मङ्गल चौधरीले बताए । २३ गते राँगाको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुनेछ ।
यस्तै मेलास्थलमा स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिइएको छ । मेला स्थलमा भेन्टिलेटर सेवा सहितको १० वटा स्वास्थ्य उपचार गर्ने शिविर सञ्चालनमा ल्याइएको तथा मेलास्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको छ । मेलामा सुरक्षा व्यवस्थापन कडा बनाइएको छ । मेलाको सुरक्षा जिल्ला प्रशासन कार्याल बाराले लिएको छ ।
मेलामा विभिन्न खेल तमासा, कृषि क्षेत्रलाई उन्नत बनाउने कृषि शिविर, हस्तकला, स्थानीय कालिगढद्धारा तयार गरिएको काठका सामग्रीहरु लगायतका नेपाल भारतबाट आएका खेल तमासाअन्तर्गत विभिन्न आकर्षण गर्ने गरी वरियारपुरलाई दुलही झै सिंगाएको छ ।