काठमाडौं । यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उमेदवारले उमेदवारी फिर्ता लिएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उमेदवार राजुकुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उमेदवार सुनादेवी थापा भोटे धामीले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।
गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उमेदवारले फिर्ता लिएका हुन् । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
रिक्त पदका लागि सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारी फिर्ता लिएको माओवादीले त्यहाँ अब एकीकृत समाजवादीलाई सघाउनेछ ।
यहाँ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस उमेदवार जोशीले एक हजार ८१० मत ल्याएकी थिइन् । उपनिर्वाचनमा हाल नौ मतदानस्थल र सात हजार ४६० मतदाता रहेका छन् । मनोनयन दर्ता गराएका तीन दलका उमेदवारलाई आज नै चुनाव चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।