काठमाडौं, ५ मंसिर । सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले प्रिजा खतिवडाको हस्ताक्षर किर्ते गरि नक्कली कागज तयार गरेको भन्दै उनका बुबा प्रकाश खतिवडाले उजुरी दिएका छन् । आज (बुधबार) प्रधानमन्त्री कार्यालयमा उनले उजुरी दर्ता गराएका हुन् । गत साउन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाईन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा छोरी, ज्वाई र नाति गुमाएका खतिवडाले आफ्नी छोरीलाई एयरलाईन्सको व्यवस्थपन पक्षले कर्मचारी खडा गरी अपराध गरेको बताए ।
खतिवडाका अनुसार प्रिजा उर्जा मन्त्रालयमा कार्यरत थिईन् । जहाज दुर्घटनामा मृत्यु भएपछि उनको हस्ताक्षर किर्ते गरी एयरलाइन्स व्यवस्थापन पक्षले विमा दाबी गर्न नक्कली कर्मचारी बनाएको उनको आरोप छ ।
उनले आफ्नी छोरी प्रिजा १२ वर्षदेखि उर्जा मन्त्रालयमा कार्यरत रहेको उजुरीमा खुलाएका छन् । एयरलाईन्सको व्यवस्थापन पक्षले आफ्नो व्यवसायिक स्वार्थ पूर्ति गर्न गैर कानूनी हर्कत गरेर मृत छोरीलाई भ्रष्ट सावित गर्न खोजेको र पीडित परिवारको आत्मसम्मान र स्वाभिमानमा ठेस पुर्याएको उनले उजुरीमा खुलाएका छन् ।
उजुरीमा जाहाज दुर्घटना छानबिन गर्न बनेको सरकारी आयोग गठन नै कानुनविरीत रहेको उनले आरोप लगाएका छन् । उनले उक्त प्रतिवेदनको पुनर्परीक्षण गर्न संवैधानिक आयोग गठनको माग समेत गरेका छन् ।
‘सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षकोे जानाजान लापरवाहि, प्राबिधिक त्रुटि र मानवीय कमजारी हो भन्ने स्पष्ट छ । उक्त कुरा सरकारी आयोगको प्रतिवेदनले समेत पुष्टि गरेको छ,’– उजुरीमा भनिएको छ ।