काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले भ्रष्टाचारीलाई कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टाचारीबाट चलेको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओली, शेरबहादुर देउवाको भागबण्डाबाट नियुक्त भएका आयुक्तहरुले ओली–देउवाकै मान्छेलाई कारबाही गर्न नसक्ने बताए ।
प्रहरीले आपराधिक घटनाका दोषीलाई कारबाही गर्न सफल भएपनि भ्रष्टाचारको अनुसन्धान गर्ने र कारबाहीको लागि सिफारिस गर्ने अख्तियारमा त्यो सक्षमता नदेखिएको उनको भनाइ छ । ‘राजनीतिकर्मीहरुलाई कारबाहीमा ल्याउन सकिएको छैन । नेपाल प्रहरीले अपराधिक घटनामा चाहीँ कारबाही गरेको छ । तर, यो भ्रष्टाचारको कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । अख्तियार नै भ्रष्टाचारीबाट चलेको छ । किनकी भागबण्डामा आयोगका आयुक्तहरु नियुक्त हुन्छन् । कोही खड्गप्रसाद ओलीजीको कोटामा कोही शेरबहादुर देउवाजीको । यसरी गएका मान्छेले शेरबहादुर र खड्गप्रसाद ओलीलाई कसरी कारबाही गर्न सक्छन् ?’ प्रश्न गर्दै उनले भने ।
अहिले नेपाल भ्रष्टाचारीहरुका लागि स्वर्ण भूमि बनिरहेको उनको टिप्पणी छ । उनले अख्तियार सक्षम र निश्पक्ष हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताए । अख्तियार प्रमुख प्रेम राईमा पनि त्यो क्षमता नदेखिएको उनको भनाइ छ । राजनीतिमा लामो समय लागेका मान्छेहरु शीर्ष नेता हुनुपर्नेमा अहिले शीर्ष ठगको रुपमा देखा परिरहेको उनले आरोप लगाए । File Photo/RN