काठमाडौं, ६ मंसिर । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाइड्रो व्यवसायीसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्दा एक मेगावाट बापत २ देखि ७ लाखसम्म घुस लिने गरेको आरोप लगाएका छन् । बुधबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पीपीएवापत कुलमानलाई ब्रिफकेश नबुझाएको कोही पनि हाइड्रो व्यवसायी नरहेको बताएका हुन् ।
२०७३ सालदेखि अहिलेसम्म ८ हजार मेगावाट विद्युत खरिद सम्झौता (पीपीए) भएको बेलमा बीचको ६÷७ महिनामा हितेृन्द्र शाक्यले ७० मेगावाट पीपीए गरेको र अरु सबै कुलमानले गरेको उनले बताए । कुलमानले गरेको भ्रष्टाचारको सम्बन्धमा आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तथ्य, प्रमाणसहित उजुरी दिएको बताउँदै उनले यदि उक्त तथ्य प्रमाण गलत भए आफूलाई कारबाही गर्न चुनौति दिए ।
‘२०७३ सालदेखि जुन पीपीए भएको छ, मैले यो अख्तियारमा तथ्य, प्रमाणसहित बुझाएको छु । मेरो तथ्य प्रमाण गलत रहेछ भने मलाई कारबाही गरोस् । एउटामात्रै उद्धाहरण दिन चाहन्छु, २०७३ सालदेखि पीपीएमा हस्ताक्षर भएको छ । एउटा ८ हजार मेगावाटको पीपीएमा हस्ताक्षर भएको छ । बीचमा ६÷७ महिनाको लागि हितेृन्द्र शाक्यजी पनि आउनुभएको छ । उहाँले पनि ७० मेगावाट प्लस पीपीएमा हस्ताक्षर गर्नुभएको छ । पीपीए साइन गरेवपात १ मेगावाटमा २ लाखदेखि ७ लाखसम्म भ्रष्टाचार भएको छ । यसबाट ८ हजार मेगावाटको के भयो होला ?’ प्रश्न गर्दै उनले भने ।
साथै, वर्तमान उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समेत विगतमा कुलमानलाई ब्रिफकेश बुझाएको उनको दाबी छ । विगतमा आफैंले ब्रिफकेश बुझाएको एमडीसँग अहिले मन्त्री खड्कालाई काम गनै नैतिक रुपमा गाह्रो भइरहेको उनको दाबी छ । ‘दीपक खड्काजी पहिला हाइड्रोमा हुनुहुन्थ्यो होईन त ? हाइड्रोमा लागेका नेपालको कुनै पनि व्यक्तिले कुलमानजीलाई ब्रिफकेश नबुझाएको कोही पनि छैन । जसले पहिला आफू हाइड्रोको ब्यवसायमा हुँदा कुलमानजीलाई ब्रिफकेश बुझाएको मान्छेलाई अब नैतिकताको प्रश्न उठ्यो नि त,’– उनले भने । File Photo/RN