काठमाडौं । आजबाट कम्बोडियामा सुरु भएको आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपालबाट विभिन्न राजनीतिक दलका नेताहरु कम्बोडिया पुगेका छन् । आईक्यापको स्थायी समिति सदस्य रहेका नेकपा एमालेका नेता डा राजन भट्टराईले कम्बोडिया जाने नेताहरुको नाम सार्वजनिक गरेका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्ती तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा ३४ अर्ब टेलिकममा लगानी गरेको भन्दै भ्रमपूर्ण भिडियो सार्वजनिक गरेका थिए । उनी भ्रमपूर्ण भिडियो सार्वजनिक गरेपछि पक्राउ परेका छन् । तीन दिनदेखि उनी प्रहरीको हिरासतमा छन् ।
प्रसाईले ओलीले कम्बोडियामा लगानी गरेको भ्रमपूर्ण भिडियो सार्वजनिक गरेलगत्तै एमाले नेता भट्टराई कम्बोडिया गएपछि सामाजिक सञजालमा टिका-टिप्पणीभइरहेको छ । टिका टिप्पणी बढ्दै गएपछि भट्टराई स्वयंले कम्बोडिया जाने नेताको नाम सार्वजनिक गरेका हुन् ।
भ्रमण टोलीमा एमालेबाट डा. भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । टोलीमा कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्नी सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउतलगायत पनि भ्रमण टोलीमा रहेका छन् ।