Logo

ओलीले बीआरआई ऋणमा लिने होईन, पोखरा विमानस्थलको ऋण पनि अनुदानमा रुपान्तरण गर्न लगाउनुपर्छ: कांग्रेस नेता रिजाल (भिडिओसहित)



काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण लिन नहुने बताएका छन् । आज (बिहिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल अहिले ऋण बोकेर अगाडि बढ्न सक्ने अवस्थामा नरहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा पनि कांग्रेसको सहमतिविना बीआरआईमा हस्ताक्षर हुनै नसक्ने उनको दाबी छ । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

‘बीआरआईको ऋण लिएर कुनैपनि काम गर्नुहुन्न भन्ने हाम्रो पार्टीको पनि मान्यता हो । मेरो पनि भनाइ त्यही हो । हामी ऋण लिने अवस्थामा छैनौं । ऋण बोकेर हामी अगाडि बढ्ने अवस्थामा छैनौं । अहिले ऋण लिने काम गर्न हुँदैन ।’ उनले भने, ‘…यहाँ सहमति भएर नै उहाँ (प्रधानमन्त्री ओली) जानुहुन्छ । जे सहमति हुन्छ, त्यो गरेर आउनुहुन्छ । सहमतिबाहेकका कामहरु उहाँले गर्नुहुन्न । सहमति भएन भने उहाँले हस्ताक्षर गर्नुहुन्न ।’

साथै, बीआरआईको कारणले वर्तमान सरकार नढल्ने उनले बताए । कांग्रेस–एमालेबीच छलफल भएर नै बीआरआईको ऋण स्वीकार गर्ने सहमति हुने उनको दाबी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बीआरआईअन्तर्गत लिइएको ऋणसमेत अनुदानमा रुपान्तरण गर्न चीन सरकारसँग ओलीले अनुरोध गर्नुपर्ने उनले बताए । नेपालले उक्त ऋण नै तिर्न नसक्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्